Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

भोजपुर । सुन्तलाको बगानमा फल झर्ने तथा विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्। सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर झर्न थालेपछि वर्षभरको मेहनत र लगानी खेर जाने भन्दै किसान चिन्तित बनेका हुन्।

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार सुन्तला पहेँलो हुने र आफैँ भुइँमा झर्ने समस्या देखिएको छ। फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उनले बताए।

प्रधानका अनुसार बगानमा फल झर्नुका साथै हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुँदै जाने समस्या पनि देखिएका छन्। “पछिल्लो समय अनौठो रोग देखिन थालेको छ,” उनले भने, “यो वर्ष झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका हामी सबै किसानलाई ठूलो समस्या परेको छ।”प्रधानले करिब ४२ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको बताए।

टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले पनि विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या निरन्तर दोहोरिरहेको बताए। करिब १५ रोपनीमा सुन्तलाखेती गर्दै आएका राईले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको भए पनि रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिए।

भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताए। समयमै रोगको पहिचान गरी रोकथाम तथा नियन्त्रण गर्न नसके पूरै बगान नै सखाप हुने अवस्था आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

सुन्तला बगानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीय किसानको माग छ। किसानले रोगको पहिचान, नियन्त्रणका उपाय तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं