विराटनगर । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पदको दुरुपयोग गर्दै बिचौलियालाई सूचना पठाउने गरेको र प्रधानमन्त्री बालेनको समेत निगरानी गरेको खुलाशा भएको छ । यसकै कारण उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ ।
उनीमाथि भइरहेको छानबिनका क्रममा विभिन्न व्यक्तिसँग भएको सम्पर्क र सूचना आदानप्रदानलाई समेत अनुसन्धानको दायरामा ल्याइएको स्रोतको दाबी छ । गृह मन्त्रालयले भने सार्वजनिक गरेको विज्ञप्तिमा उनले कस्तो सूचना चुहाएको भन्ने विस्तृत विवरण खुलाएको छैन ।

स्रोतहरूका अनुसार दाहाल र झापाका इनम सापकोटाबीच नियमित सम्पर्क रहेको र सापकोटाको मोबाइलमा भेटिएका कुराकानीका आधारमा दाहालले संवेदनशील प्रकृतिका सूचनाहरू आदानप्रदान गरेको आशंका गरिएको छ । यही सम्पर्कलाई आधार बनाएर सुरक्षा निकायले उनको भूमिकामाथि थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

अनुसन्धानको अर्को पाटो भने असोज ११ गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल तत्कालै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको घटनासँग जोडिएको छ ।
जबरालाई घरबाट नियन्त्रणमा लिएर कार्यालय ल्याइएको केही समयमै दाहाल त्यहाँ पुगेको र त्यसक्रममा उनले आफ्नो पदीय हैसियतअनुसारको ‘चेन अफ कमान्ड’ पालना गरे–नगरेको विषयसमेत अनुसन्धानमा परेको स्रोतको भनाइ छ ।
जबरासँग दाहालको पारिवारिक सम्बन्ध रहेको बताइन्छ । तर, सुरक्षा निकायको नियन्त्रणमा रहेका व्यक्तिलाई उच्च तहका सुरक्षा अधिकारीले रातारात भेटेको विषयले अनुसन्धानकर्ताको ध्यान तानेपछि दाहालसँग सम्बन्धित अन्य सम्पर्क र गतिविधिबारे समेत खोजी सुरु भएको स्रोतको दाबी छ ।
त्यसक्रममा दाहाल र सापकोटाबीचको सम्पर्क अनुसन्धानको केन्द्रमा पुगेको हो ।
स्रोतका अनुसार उनीहरूबीच फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा प्रधानमन्त्री बालेन्द्र शाहको सिंहदरबार आवागमनसँग सम्बन्धित ‘इन–आउट’ विवरणसमेत आदानप्रदान भएको आशंका गरिएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विभिन्न समूहसँग नजिक मानिएका सांसदहरूको विवरणसमेत पठाइएको दाबी अनुसन्धानसँग जोडिएका स्रोतले गरेका छन् ।
यद्यपि, यी विवरणबारे गृह मन्त्रालयले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेको छैन । सार्वजनिक विज्ञप्तिमा भने दाहालले ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट’ गरेको उल्लेख गर्दै त्यससम्बन्धी आरोपमाथि छानबिन गर्न जाँचबुझ अधिकृत तोकिएको मात्रै जानकारी दिइएको छ।
दाहालसँग जोडिएको अर्को महत्वपूर्ण विषय सापकोटा र जबराबीचको सम्बन्ध पनि हो । प्रहरी अनुसन्धानमा सापकोटा र जबराबीच सम्पर्क रहेको देखिएपछि दाहाल–सापकोटा सम्पर्कलाई समेत सोही घटनाक्रमसँग जोडेर हेरिएको स्रोतको दाबी छ ।