काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई अवकाश दिने प्रावधान प्रस्ताव भएपछि संसद् सचिवालयका सात कर्मचारीले राजीनामा दिएका छन् ।
असोज १६ गतेयता राजीनामा दिनेमा प्राविधिक अधिकृत सुदर्शन गौतम, राजेन्द्र लामिछाने, नरेश श्रेष्ठ, दिपेन्द्र केसी, गणेश सिम्खडा, लक्ष्मी गिरी र चिरिकाजी महर्जन छन् । ३४ वर्ष सेवा गरेका गौतमले अवकाश पाउन अझै ६ वर्ष दुई महिना बाँकी रहे पनि प्रस्तावित व्यवस्थाका कारण राजीनामा दिएको बताएका छन् ।

हाल संसद् सेवाका कर्मचारीका लागि छुट्टै ऐन रहे पनि प्रस्तावित विधेयकले उनीहरूलाई समेत समेट्ने व्यवस्था गरेको छ । विधेयकको मस्यौदामा एकपटकका लागि ५८ वर्षको उमेर हद कायम गरी त्यसपछि ६० वर्षमा अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ ।
