Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। शनिबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो।

यस हारसँगै नेपालको शीर्ष ६ मा रहँदै विश्वकप छनोटको सम्भावना कायम राख्ने अभियानमा दबाब थपिएको छ। शीर्ष ६ मा स्थान पक्का गर्न नेपालले सोमबार हुने खेलमा ओमानलाई हराउनुपर्नेछ। जितसँगै क्यानडाले पनि शीर्ष ६ मा पुग्ने सम्भावना जीवित राखेको छ। यद्यपि, त्यसका लागि क्यानडाले नेपाल र ओमानबीचको खेलको नतिजा कुर्नुपर्नेछ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। उनले ११२ बलमा चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २७, गुल्शनकुमार झा र इशान पाण्डेले समान २१, आसिफ शेखले २० तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। करण केसी १७ रनमा अविजित रहे।

क्यानडाका सुखजिन्दर सिंहले तीन विकेट लिए। कलिम साना र सहिल पटेलले समान दुई तथा जाहिद शिर्जादले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। क्यानडाका युवराज समराले शतक प्रहार गर्दै सर्वाधिक १०५ रन बनाए। उनले ११७ बलमा ११ चौका र चार छक्का प्रहार गरे।

त्यस्तै, आरोन जोनसनले ३६, हर्ष थाकरले ३४, समित गोहेलले १७ तथा आदित्य वर्दराजनले १२ रन बनाए। कप्तान हम्जा तारिकले तीन रन जोडे। नेपालका ललितनारायण राजवंशीले चार विकेट लिए। कप्तान सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। रोहितकुमार पौडेलको नाममा एक विकेट रह्यो।

यस जितसँगै क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको नेपाल भने ३५ खेलबाट २८ अंकसहित सातौँ स्थानमा झरेको छ। अब नेपालका लागि शीर्ष ६ मा रहन सोमबारको खेल निर्णायक बनेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं