काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले दबाबपूर्ण अवस्थामा ओमानमाथि रोमाञ्चक जित निकाल्दै अंकतालिकाको छैटौँ स्थान सुरक्षित गरेको छ ।
सोमबार ओमानको अल अमेरतमा भएको निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई १० रनले पराजित गर्दै ३६ खेलबाट ३० अंक जोडेको हो ।

नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमान ५० ओभरमा ६ विकेट गुमाउँदै २७० रनमा सीमित भयो । ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अन्तिम ओभरमा ओमानलाई २३ रन आवश्यक थियो । बलिङको जिम्मेवारी सम्हालेका दीपेन्द्रसिंह ऐरीले दबाब नियन्त्रण गर्दै नेपाललाई महत्त्वपूर्ण जित दिलाए ।
यसअघि नेपालका कप्तान रोहित पौडेलले ८०, दीपेन्द्रले ६९ र देव खनालले ५७ रनको योगदान दिएका थिए । नेपाल २८० रनमा अलआउट भएको थियो । यो जितसँगै नेपालले क्यानडालाई पछि पार्दै छैटौँ स्थान पुन: कब्जा गरेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावनाका दृष्टिले पनि नेपालको यो सफलता महत्त्वपूर्ण मानिएको छ।