Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

एजेन्सी । रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताएका छन् ।

जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ । पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको उनले बताए । आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीले जनाएका छन् ।

पश्चिमा मुलुकहरूबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार यही धारणा दोहोर्‍याउँदै अघिल्लो रातको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताए ।

यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालन प्रभावित भएको जेलेन्स्कीले बताए । अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती बढाएको छ ।

रुसी रक्षा मन्त्रालयले युक्रेनभित्रका विभिन्न सैन्य तथा औद्योगिक लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ । ती लक्ष्यमा डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपो रहेको मन्त्रालयको दाबी छ ।

युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताएका छन् । उनका अनुसार, किएभले युद्धविरामका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिएको छ । तर, रुसी आक्रमण र युद्ध लम्ब्याउने मस्कोको चाहनाका कारण युद्ध जारी रहेको उनको भनाइ छ । ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयास पनि सफल हुन सकेन ।

यता, युक्रेनले रुसको भित्री भू–भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका हतियार प्रयोग गर्दै तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइरहेको छ । आइतबार युक्रेनले रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको जनाएको छ । ती आक्रमणका कारण सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र भण्डारण केन्द्रमा आगलागी भएको विवरण सार्वजनिक भएको छ ।

पश्चिमा विश्लेषक तथा अधिकारीहरूका अनुसार, युक्रेनलाई प्राप्त हुने विदेशी सहयोग कमजोर हुने समयसम्म पर्खेर आफ्नो सैन्य शक्तिको बलमा अघि बढ्न सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आकलन छ । युक्रेनमा भने अमेरिकी सहयोग घट्न सक्ने चिन्ता बढिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं