Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ ।

बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका हुन् ।

बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो ।

बोका बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गरेका थिए । महाअष्टमीको रात राजदेवी मन्दिर माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट पनि श्रद्धालुहरू आउने गरेको अध्यक्ष साहले जानकारी दिए ।

मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

उनका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैङ्क एवं वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

यस वर्षको बडादसैँमा धनुषा जिल्लामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं