काठमाडौं । गएको साता चर्चमा भएको घातक गोलीकाण्डको बदलास्वरूप जोर्डनले सिरियाको दक्षिणपूर्वी क्षेत्रमा हवाई आक्रमण गरेको छ । सोमबार गरिएको आक्रमणमा तीन बालबालिका र एक महिलासहित कम्तीमा सातजनाको मृत्यु भएको सिरियाली अधिकारीले बताएका छन् ।
आक्रमणपछि सिरियाले जोर्डनसँग जोडिएको मुख्य सीमानाका बन्द गरेको अलजजिराले जनाएको छ ।

जोर्डनको सशस्त्र सेनाले शुक्रबार करक प्रान्तस्थित चर्चमा गरिएको गोलीकाण्डको जवाफमा सिरियामा सशस्त्र समूहका अखडालाई निसाना बनाइएको जनाएको छ । उक्त गोलीकाण्डमा कम्तीमा नौजनाको मृत्यु र केही मानिस घाइते भएका थिए ।

जोर्डनी सेनाले सिरियाली सरकारसँगको समन्वयमा गरिएको कारबाहीमा सशस्त्र समूहका सदस्य मारिएका तथा घाइते भएका एवं उनीहरूका केही सवारीसाधन नष्ट भएको जनाएको छ । तर, सिरियाले जोर्डनसँग समन्वय भएको जिकिर अस्वीकार गरेको छ ।