धनकुटा । धनकुटामा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ।
सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो।

आगोबाट कम्मरभन्दा मुनिको भाग गम्भीर रूपमा जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति घटेको उक्त घटनाबारे आज विहान ६स्३० बजे मात्र इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।