काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसम सुधार हुने जनाएको छ । सामान्य वर्षाबाहेक तत्कालको लागि ठुलो वर्षा टरेको छ ।
मौसमविद् सञ्जीव अधिकारीले हिजोबाट पश्चिमतिरको मौसमसुधार हुँदै गएको जानकारी दिए । ‘आज आइतवारबाट मौसम सुधार हुनेछ’ –उहाँले भने। महाशाखाले सामान्यबाहेक ठुलो वर्षाको सम्भावना टरेको जनाएको छ । मौसमविद् प्राडा दीपक अर्यालले आजबाट मौसम क्रमश सफा हुँदै जाने बताए । सामान्यबाहेक करिब दुई साता पानी पर्ने अवस्था छैन ।

शनिवार दिउँसो ३ बजेबाटै मौसम सफा हुने क्रम सुरु भएको थियो । अब जाडो बढ्छ । राजधानीको खोँचमा हुस्सु लाग्न थाल्नेछ । अहिलेको जस्तो वर्षा हुने सम्भावना केही समयसम्मको लागि रोकिएको मौसमविद् अर्यालको भनाइ छ ।

मौसमविद्ले अनुमान गरेअनुसार दुईदिने झरीले ठुलो विपद् ल्याएको छैन । हिमपहिरो जानेसम्मको पूर्वानुमान मौसमविद्ले गरेका थिए । ‘अब सबै सम्भावना टरेको छ । विस्तारै वर्षा कम हुँदै गएको छ, केही दिन पानी पर्ने अवस्था देखिँदैन’–मौसमविद् प्राडा अर्यालको भनाइ थियो ।
बंगालको खाडीमा बनेको न्यून चक्रवातको अवशेष न्यून चापीय प्रणालीका रूपमा भारत आसपास रहेकाले नेपालका विभिन्न भूभागमा वर्षा भएको मौसमविद् अधिकारीले बताए । उक्त प्रणालीको प्रभाव क्रमश: कमजोर हुँदै गएको र आजबाट यसको प्रभाव निकै कम हुने उनको भनाइ छ ।
वर्षाका कारण कृषि तथा पर्यटनक्षेत्रमा केही समय प्रभाव रहन सक्ने भएकाले मौसमसम्बन्धी सूचना तथा जानकारी नियमित रूपमा लिन उहाँले आग्रह गर्नुभएको छ । पछिल्लो मौसमी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट हेर्न उनले भने ।
अर्नव चक्रवातको प्रभावले लगातार दुई दिन वर्षा र हिमपात हुँदा उपत्यकासहित देशभरको जनजीवन कष्टकर भएको थियो । देशभर करिब डेढ दर्जनबढी सडक अवरुद्ध भएका छन् । बाढीपहिरोका कारण काठमाडौँको लाइफलाइन पृथ्वी राजमार्गसहितका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षाले काठमाडौँबाट हेटौँडा पुग्ने फाखेल र सिस्नेरी, कान्ति लोकपथ सडकसमेत अवरुद्ध भएको थियो । यो तथ्याङ्क शनिवार रातीसम्मको हो ।
बाढीले उपत्यकाको मनोहरा, धोबीखोला, नख्खुखोला, विष्ण्ॉमती र बागमतीमा जलसतह उच्च भएको थियो । सुरक्षा निकाय र स्थानीयले खोला किनारावासीलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए । साँझ ५ बजेबाट जल सतह घट्दै गएको थियो ।
वर्षाले बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश राजमार्ग बन्द छन् । धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर पूर्णरूपमा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । शनिवार बिहान रोशी खोलामा आएको बाढीले राजमार्ज अवरुद्ध भएको छ । रसुवा बाह्र घुम्तीदेखि रसुवागढी, रसुवा बेत्रावती खाल्डे, बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका–७ औलीसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि बाटो अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्ति लोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएका छन् । बल्खु सुन्दरीघाटस्थित करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।
साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको थियो । कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका–१ कासिवनस्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै मुगुको छाँयानाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ । वर्षापछिको हिमपातले मनाङ, मुस्ताङ, हुम्ला, मुगु, जुम्लालगातय हिमालीक्षेत्रमा बाक्लो हिमपात भएको छ । शुक्रवारदेखि अविरल वर्षाका कारण कोरला नाका ठप्प छ ।
यस्तो छ : तीन दिनको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले जारी गरेको तीनदिने मौसम बुलेटिनमा देशभर कतै सफा त कतै आंशिक बादल लाग्ने जनाएको छ । उपत्यकाका खोचहरूमा हुस्सु लाग्ने, आंशिक बादल लाग्ने सम्भावना रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले जारी गरेको तीनदिने बुलेटिनमा आज आइतवार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राती देशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
सोमवार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राती देशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
मंगलवार कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभाग,उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
बुधवार कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।