काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो ।
हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । यसैक्रममा निगमले गत १२ कात्तिकमा सबै ग्यास उद्योगलाई पत्राचार गर्दै उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

निगमका अनुसार उद्योगहरूबीच एकीकरणको प्रक्रिया अघि बढाउँदा ग्यासको बिक्री तथा वितरण प्रणाली थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बन्ने अपेक्षा गरिएको छ ।

