काठमाडौं। सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका उपायबारे छलफल भएको छ।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग आवश्यक समन्वय तथा अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाइराख्ने विषयमा छलफल भएको थियो।
त्यसैगरी, सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खाद्यवस्तु तथा अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिम कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण र नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८/८४ मा क्यान्सरलगायत नसर्ने रोगको नियन्त्रणका लागि उपचारमा मात्र केन्द्रित नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।
