काठमाडौं । सडक विभागका महानिर्देशक डा। विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलीब्रिज निर्माण गर्नु घातक हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले बेलीब्रिज निर्माण तथा व्यवस्थापनमा रहेका प्राविधिक चुनौतीबारे जानकारी गराएका हुन् ।
महानिर्देशक जैसीका अनुसार बेलीब्रिज निर्माणका लागि बलियो जग (फाउन्डेसन) आवश्यक पर्छ । त्यसको सुरक्षा सुनिश्चित गर्न उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ । ‘बेलीब्रिज राख्न हामीले हतार गर्नु हुँदैन । धेरै ठाउँमा नयाँ बेलीब्रिज राख्नुभन्दा विद्यमान पुलका एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित विकल्प हुन सक्छ । अन्यथा, बर्खायामको बाढीले संरचना बगाउने जोखिम रहन्छ,’ उनले भने ।

उनले मालढुंगा र आरुघाट पुलको समस्या बजेट अभावका बाबजुद समाधान गरिएको उल्लेख गर्दै बेलीब्रिज निर्माणको निर्णय गर्दा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जिम्मेवारीसमेत लिनुपर्ने बताए । रसुवागढी नाकाको उदाहरण दिँदै जैसीले बेलीब्रिज निर्माणमा ठूलो खर्च र लामो समय लाग्ने बताए । साथै, वर्षायाम सुरु हुनुअघि नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यता रहेकाले थप आर्थिक भार र प्राविधिक जटिलता उत्पन्न हुने उनको भनाइ थियो ।

उनले विभागले बजेट सुनिश्चितता नहुँदा र कतिपय अवस्थामा नियमविपरीतको परिस्थितिमा समेत आपत्कालीन काम गर्दै आएको स्पष्ट पारे ।