Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन् ।

अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन् ।

नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायको पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए ।

नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिबापत चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिको माग गर्दै कूटनीतिक पहलसमेत गरेको थियो ।

पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा पनि जोड दिँदै आएका छन् ।

टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालको लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो ।

वाग्लेको नाम टाइमको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दाले विश्वव्यापी चर्चा पाएको घटनाका रूपमा हेरिएको छ ।

यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समावेश छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं