काठमाडौं । गृह मन्त्रालय तथा मातहतका कर्मचारी र प्रहरीले अबदेखि विदेश भ्रमणबाट फर्केपछि अनिवार्य रूपमा ‘भ्रमण प्रतिवेदन’ बुझाउनुपर्ने भएको छ ।
गृहले यही कात्तिक १३ गते स्वीकृत गरेको ‘वैदेशिक भ्रमणको सिकाइ संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो । दिग्दर्शनअनुसार, गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी कर्मचारीले विदेश भ्रमणबाट फर्केको १५ कार्य दिनभित्र भ्रमण अनुभवमा आधारित प्रतिवेदन बुझाउनु पर्नेछ ।

वैदेशिक भ्रमण तथा अवलोकनबाट प्राप्त ज्ञान, सिप, प्रविधि, असल अभ्यास तथा सिकाइलाई सम्बन्धित व्यक्तिको अनुभवमा मात्र सीमित नराखी संस्थागत गर्न तथा ज्ञान स्मरणका रूपमा विकास, संरक्षण, प्रसार र उपयोग गर्न आवश्यक भएकोले दिग्दर्शन बनाइएको प्रस्तावनमा उल्लेख छ ।

यो दिग्दर्शन नेपाल सरकार, गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायका पदाधिकारी तथा कर्मचारीलाई मन्त्रालय वा नेपाल सरकारको निर्णयबाट वैदेशिक भ्रमणको मनोनयन भई अध्ययन, भ्रमण, गोष्ठी, सेमिनार, सम्मेलन, बैठक, क्षमता विकास वा अन्य प्रयोजनका लागि हुने वैदेशिक भ्रमणमा लागु हुने जनाइएको छ ।
दिग्दर्शन ल्याउनुको प्रमुख उद्देश्य वैदेशिक भ्रमणको उपलब्धि तथा प्रभावको अभिलेख राख्ने, प्राप्त ज्ञान, सिप र सिकाइलाई संस्थागत गर्ने, भ्रमणलाई परिणाममुखी, उत्तरदायी एवम् मितव्ययी बनाउने, ज्ञान तथा अनुभव सुरक्षित राख्ने, ज्ञान अदानप्रदान गर्ने, ज्ञानलाई नीति तथा सेवा सुधारमा प्रयोग गर्ने लगायत रहेका छन् ।
वैदेशिक भ्रमणको सिफारिस तथा मनोनयनको आधार, प्रक्रिया र स्वीकृति सम्बन्धित ऐन, नियमावली र वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम हुने दिग्दर्शनमा उल्लेख छ ।
“वैदेशिक भ्रमणबाट फर्किएको कर्मचारीले भ्रमणबाट प्राप्त ज्ञान, सिप, सिकाइ तथा अनुभव समेटिएको प्रतिवेदन कार्यालयमा हाजिर भएको मितिले पन्ध्र कार्य दिनभित्र सम्बन्धित कार्यालय प्रमुखसमक्ष पेस गर्नु पर्नेछ,” दिग्दर्शनमा भनिएको छ ।
मनासिब कारणबाट तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्न नसक्ने भएमा कार्यालय प्रमुखले बढीमा सात कार्यदिनसम्मको म्याद थप गर्न सक्नेछ ।
“समूहमा रहेको भ्रमण टोलीले सामूहिक रूपमा प्रतिवेदन पेस गर्न सक्नेछ । फरक-फरक निकाय वा कार्यालयका कर्मचारी सम्मिलित भ्रमण टोलीका सदस्यहरूले भ्रमण टोलीले सामूहिक रूपमा गरेको पेस गरेको प्रतिवेदन आ–आफ्नो कार्यालयमा पेस गर्न सक्नेछन्,” दिग्दर्शनमा उल्लेख छ ।
विदेश भ्रमणबाट फर्केपछि बुझाउने प्रतिवेदनमा अवलोकन गरिएका असल तथा नवीन अभ्यास, नेपालको विद्यमान अभ्यासँगको तुलना, नेपालमा उपयोग वा आन्तरिकीकरण गर्न सकिने सिकाइ, संस्थागत सुधारका लागि सुझाव, कार्यान्वयन गर्नुपर्ने विषय, जिम्मेवार निकाय तथा अपेक्षित परिणाम, ज्ञान हस्तान्तरण तथा साझेदारीको प्रस्ताव, आवश्यक सन्दर्भ तथा अध्ययन सामग्री र अन्य सान्दर्भिक विवरण खुलाउनु पर्नेछ ।
विदेशबाट फर्किएपछि कर्मचारीले कार्यालयमा हाजिर भएको मितिले ३० कार्यदिनभित्र आफ्नो वैदेशिक भ्रमण वा भ्रमणबाट प्राप्त प्रमुख ज्ञान, सिप, अनुभव तथा सिकाइसम्बन्धी विषयमा सम्बन्धित मन्त्रालय वा कार्यालय वा निकायको प्रमुख तथा कार्यालयका अन्य कर्मचारी समेतको उपस्थितिमा प्रस्तुतीकरण दिनुपर्नेछ । मातहतका निकायले प्रतिवेदन तथा प्रस्तुतीकरणसहितको विवरण मन्त्रालयमा मासिक रूपमा पठाउनुपर्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ ।
“एकल भ्रमण सदस्यको रूपमा भ्रमण गर्ने पदाधिकारीले एकल रूपमा प्रस्तुतीकरण गर्ने,” दिग्दर्शनमा भनिएको छ, “मन्त्रालय समेतको प्रतिनिधित्व हुने दुई वा दुईभन्दा बढी सदस्य रहेको भ्रमण टोलीको हकमा भ्रमण टोलीका नेतृत्वकर्ताले मन्त्रालयमा सामूहिक प्रस्तुतीकरण गर्ने ।”
प्रस्तुतीकरणको विषय र प्रकृतिअनुसार, सम्बन्धित अन्य निकायका कर्मचारी, विषय विज्ञ वा सरोकारवाललाई समेत सहभागी गराउन सकिने दिग्दर्शनमा जनाइएको छ ।
“भ्रमणमा सहभागी भ्रमणकर्तालाई सम्बन्धित निकाय वा कार्यालयले प्रशिक्षण कार्यक्रम आयोजना गरी प्रशिक्षण गराउन लगाउनुपर्नेछ,” दिग्दर्शनमा भनिएको छ । प्रशिक्षण कार्यक्रम सम्बन्धित निकाय वा कार्यालयले भ्रमणकर्ता कार्यालयमा हाजिर भएको ३० कार्य दिनभित्र आयोजना गर्नुपर्नेछ ।
प्रशिक्षण कार्यक्रमबाट प्राप्त सिकाइमध्ये मन्त्रालय वा निकायको कार्यसम्पादन सुधारमा उपयोग गर्न सकिने विषय पहिचान भएमा सम्बन्धित निकायले सिकाइ कार्यान्वयन प्रस्ताव मन्त्रालयमा पेस गर्न सक्नेछ ।
मन्त्रालय तथा मातहतका निकायको प्रशासन महाशाखा वा प्रशासन विभाग वा प्रशासन हेर्ने सम्बन्धित शाखालाई वैदेशिक भ्रमणको सिकाइसम्बन्धी विषयको अभिलेख व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
“महाशाखामा मन्त्रालय तथा अन्तर्गतका निकायका कर्मचारीको वैदेशिक भ्रमणबाट प्राप्त ज्ञान, सीप, सिकाइ, प्रतिवेदन, प्रस्तुतीकरण तथा सम्बन्धित स्वीकृत सामग्रीलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिनेछ,” दिग्दर्शनमा भनिएको छ ।
महाशाखामा रहेका सूचना तथा दस्तावेजको सुरक्षा, पहुँच, प्रयोग तथा साझेदारी प्रचलित कानुन र मन्त्रालयको सूचना सुरक्षासम्बन्धी व्यवस्था बमोजिम हुने जनाइएको छ ।