काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतानुसार परिवर्तन महसुस गराउन नसके आउँदो निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । छठ पर्व मनाउन शनिबार (कात्तिक २८) जनकपुरधाम पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् ।
उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका निम्ति नभई मधेसी जनताको मुहारमा खुसी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको उल्लेख गरे । जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आउँदो निर्वाचनमा नागरिकले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ ।

लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गरिनुपर्नेमा जोड दिए ।

उनले रास्वपाभित्र सरकारका काम–कारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न आग्रह गरे । रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उनको भनाइ छ ।
सरकारले गरेका केही काममा त्रुटि देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उनले उल्लेख गरे । उनले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गरे ।
लामिछानेले सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्न काम गरिरहेको जिकिर गरे । उनले पार्टीका नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गरे ।
रवि लामिछानेको भनाइ पढ्नोस्–
सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेस र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो । हाम्रो प्रतिबद्धता स्पष्ट छ । जति बोल्छौँ, त्यति नै गर्छौं । जनतालाई झुटो आश्वासन दिएर राजनीति गर्दैनौँ । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो । साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ ।