काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सापकोटामाथिको अनुसन्धान प्रक्रिया रहस्यपूर्ण बन्दै गएको बताएका हुन् । मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् ।

पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई झापाबाट उम्मेदवार बनाउने वा नबनाउने विषयमा गरिएको सर्वेक्षण इनम सापकोटाको नेतृत्वमा भएको दाबी गरे । चुनावी अभियानदेखि प्रधानमन्त्री बनेपछि पनि उनी प्रधानमन्त्रीको कोर टिममा रहेको कुरा बाहिर आएको पोखरेलको भनाइ छ ।

त्यस्तै, पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे पनि सरकारले उनीहरूविरुद्ध अभियोजन गर्न नसकेको आरोप लगाए । सरकारले राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तारी गरेको उनको दाबी छ ।
उनले ओली र लेखकलाई लगाइएका आरोपकै आधारमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि गिरफ्तार गर्नुपर्ने तर्क गरे । सुनसरीमा भएको गोलीकाण्डको जिम्मेवारीसमेत प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।