Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। सोमबार नेपाल आइपुगेकी उनको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको छ।

आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो। डा. शर्माले विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी विष्णुको स्वागतका लागि डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएर भर्ना गरिएको हो।

अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ। नेपाल आइपुगेपछि विष्णुले आफू कहाँ रहेको भन्दै डा. शर्मालाई प्रश्न गरेकी थिइन्। जवाफमा डा. शर्माले उनी आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी गराएका थिए। स्वदेश फर्किएको थाहा पाएपछि उनी भावुक बनेकी थिइन्।

डा.शर्माले अस्पतालबाट डिस्चार्ज नहुँदासम्म विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने उनको प्रतिबद्धता छ। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उनको भनाइ छ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। आर्थिक समस्याका कारण जापानमा उपचारलाई निरन्तरता दिनुका साथै नेपाल फर्किनसमेत कठिनाइ भइरहेको थियो।

डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा सक्रिय छन्। उनले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ। यसका साथै विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उनी संलग्न रहँदै आएका छन्।

६ महिनासम्म जापानमा उपचार गराएकी विष्णु अहिले स्वदेश फर्किएर परिवारको साथमा थप उपचार गराइरहेकी छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं