विराटनगर । मोरङमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई रात्रीकालीन व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ। तोकिएको मापदण्ड पूरा गरी प्रशासनबाट अनुमति प्राप्त गरेपछि मात्रै डिस्को, डान्सबारलगायतका व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार रात्रीकालीन व्यवसायलाई सञ्चालन समयका आधारमा तीन वर्गमा विभाजन गरिएको छ। कानुनले निषेध गरेका बाहेक अन्य व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न अनुमति लिनुपर्ने छैन। तर राति १२ बजेसम्म र २ बजेसम्म सञ्चालन हुने व्यवसायका लागि भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

राति १२ बजेसम्म पान पसल, चिया पसल, रेस्टुरेन्ट, गजल तथा किराना पसललगायत व्यवसाय सञ्चालन गर्न चाहनेले तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। त्यसपछि प्रशासनले मापदण्ड पूरा भए नभएको अनुगमन गरी अनुमति प्रदान गर्नेछ।

त्यस्तै, डिस्को, डान्सबारलगायत राति २ बजेसम्म सञ्चालन हुने व्यवसायले पनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनपछि अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेको पाइएमा मात्रै सञ्चालन अनुमति दिइने कोइरालाले बताए।
‘अहिले अनुमति नलिई राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइन्छ भन्ने होइन,’उनले भने, ‘व्यवसायीले निवेदन दिएपछि प्रशासनले अनुगमन गर्छ। मापदण्ड पूरा गरेको पाइएमा मात्रै अनुमति प्रदान गरिन्छ।’
कोइरालाका अनुसार हालसम्म कुनै पनि व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि अनुमति माग्दै निवेदन दिएका छैनन्। मापदण्डमा व्यवसायी, सेवाग्राही र कर्मचारीको सुरक्षा तथा अधिकारलाई समेत समेटिएको छ। होटल तथा मनोरञ्जन व्यवसायमा कार्यरत कर्मचारीलाई नियुक्तिपत्र दिएर मात्रै काममा लगाउनुपर्ने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने र अतिरिक्त समय काम लगाएमा अतिरिक्त सुविधा दिनुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीको तलब बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ।
रातिको समयमा काम गर्ने कर्मचारीलाई घरबाट ल्याउने तथा पुर्याउने यातायात र खानाको व्यवस्था व्यवसायीले गर्नुपर्नेछ। कार्यस्थलमा यौन शोषण, यौन उत्पीडन, लैंगिक हिंसा तथा दुर्व्यवहार हुन नदिने वातावरण बनाउनुपर्ने मापदण्डमा उल्लेख छ। महिला श्रमिकका लागि सुरक्षित पोशाक परिवर्तन कक्ष र स्तनपान कक्षको व्यवस्था पनि अनिवार्य गरिएको छ।
डान्स रेस्टुरेन्ट, बार, दोहोरी, लाइभ ब्यान्ड, लाउन्ज, पब, क्लब तथा डिस्कोथेकमा १८ वर्षमुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश गराउन पाइने छैन। त्यस्तै, १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाइएको छ।
धूमपान गर्ने र नगर्ने व्यक्तिका लागि छुट्टाछुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्नेछ। व्यवसायीले सेवाको विवरण, मूल्यसूची र मेनु सबैले देख्ने स्थानमा राख्नुपर्नेछ। तोकिएको मूल्यभन्दा बढी वा मेनुमा उल्लेख भएभन्दा अस्वाभाविक रूपमा बढी रकम असुल गर्नसमेत पाइने छैन।
मापदण्ड कार्यान्वयन तथा अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिनेछ। समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, विराटनगर महानगरपालिका तथा होटल र पर्यटन व्यवसायी संघका प्रतिनिधि सदस्य रहनेछन्। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।