Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

काठमाडौं । बंगलादेशमा मंगलबार र बुधबार पुनः राजनीतिक हिंसा भड्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जको टुंगीपाडामा प्रतिबन्धित अवामी लिग र छात्र लिगका कार्यकर्ताहरूले प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरेका छन् ।

उनीहरूले हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई छुटाएर लगेको प्रहरीले जनाएको छ । गोपालगञ्ज, फरिदपुर र नारायणगञ्जमा भएका हिंसात्मक घटनामा तीनजनाको मृत्यु भएको छ ।

गोपालगञ्जमा बीएनपी सांसद एसएम जिलानीको घर र गाजीपुरमा पूर्वमन्त्री एकेएम मोजम्मेल हकको घरमा पनि आगजनी गरिएको छ । राजधानी ढाकामा कैयौँ बस जलाइएका छन् भने दुई स्थानमा देसी बम विस्फोट भएका छन् ।

मंगलबार साँझ अवामी लिग र छात्र लिगका कार्यकर्ताहरूले जुलुस निकाल्दै टुंगीपाडा प्रहरी चौकी घेराउ गरेका थिए । त्यसपछि चौकीभित्र प्रवेश गरी तोडफोड र आगजनी गर्नुका साथै पार्किङ गरिएका सवारीसाधन जलाएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, रबरको गोली र साउन्ड ग्रेनेड प्रहार गरेको थियो ।

प्रहरीले अवामी लिगका कार्यकर्तालाई हिरासतमा लिएको खबर फैलिएपछि तनाव बढेको स्थानीय स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चौकीभित्र कम्तीमा तीनवटा गाडी जलिरहेको देखिन्छ । प्रहरी प्रवक्ता कामरुन मुनिराले राति चौकीमा आक्रमण र आगजनी भएको पुष्टि गरेकी थिइन् ।

त्यसपछि आक्रमणकारीहरू चौकीबाट करिब डेढ किलोमिटर टाढा रहेको बीएनपी सांसद जिलानीको घर पुगेका थिए । प्रत्यक्षदर्शी र बीएनपी स्रोतका अनुसार उनीहरूले घरमा तोडफोड गरी आगो लगाएका थिए । गोपालगञ्ज जिल्ला बीएनपीका संयोजक सरिफ रफिकुज्जमानले पनि घटनाको पुष्टि गरेका थिए ।

यस्तै, गाजीपुरको कासिमपुरस्थित पूर्वमन्त्री मोजम्मेल हकको पुरानो घरमा साँझ करिब ७ः३० बजे १५/२० जनाको समूहले ढोका फोडेर आगजनी गरेको स्थानीयले बताएका छन् । आगो निभाउन दमकलका दुईवटा गाडी परिचालन गरिएको थियो ।

हिंसा बढेपछि गोपालगञ्जमा थप प्रहरी र सेना परिचालन गरिएको छ । टुंगीपाडामा इन्टरनेट र मोबाइल सेवा प्रभावित भएको खबर छ । फरिदपुरमा बीएनपीका एक नेताको हत्या भएको छ । प्रहरीले भिडियो फुटेजका आधारमा आक्रमणकारीहरूको पहिचान गरिरहेको जनाएको छ ।

किन भड्कियो हिंसा ?
बंगलादेशमा पछिल्लो हिंसालाई शेख हसिनाको सत्ताच्युतपछिको राजनीतिक तनावसँग जोडिएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई मृत्युदण्ड सुनाएपछि अवामी लिगका समर्थकहरू आक्रोशित छन् ।

हसिना सरकार ढलेपछि अन्तरिम सरकारले अवामी लिग र छात्र लिगमाथि प्रतिबन्ध लगाएको छ ।

यसैबीच, सन् २०२६ फेब्रुअरीमा हुने आमनिर्वाचनको तयारीमा बीएनपी र जमात–ए–इस्लामी जुटेका छन् । अवामी लिगलाई भने निर्वाचन प्रक्रियाबाट बाहिर राखिएको छ । यी घटनाक्रमले देशको राजनीतिक ध्रुवीकरण र तनाव थप बढाएको छ । -एनडीटीभी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं