सुनसरी । मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण कार्य सुरु भएको छ । लामो समयपछि पुल निर्माणको काम अघि बढेपछि स्थानीयवासी खुसी भएका छन् । तर, केही राजनीतिक दल तथा व्यक्तिले आफ्नै पहलमा पुल निर्माण सुरु भएको भन्दै श्रेय लिन खोजेपछि स्थानीय भने आश्चर्यमा परेका छन् ।
स्थानीय बुद्धमाया मगरले केही राजनीतिक दल तथा व्यक्तिले आफ्नै पहलमा पुल बन्न लागेको भन्दै प्रचार गर्नु उचित नभएको बताइन् । विगतमा पुल नहुँदा खोला वारपार गर्न निकै कठिन हुने गरेको स्मरण गर्दै उनले पुल अभावकै कारण एक जनाको लडेर मृत्यु भएको र केही व्यक्ति घाइते भएको बताइन् ।

लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयवासी निर्माण कार्य सुरु भएपछि मात्रै पनि खुसी भएका छन् । धरान उपमहानगरपालिका–८ विकास संस्थाका अध्यक्ष सुभास श्रेष्ठले पुल भत्किएको दुई वर्षपछि निर्माण सुरु भएपछि अब पुल बन्ने आशा पलाएको बताए ।

स्थानीयवासी, स्थानीय तह र प्रदेश सरकारको पहलमा सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि निर्माण कार्य अघि बढेको हो । पुल निर्माणको ठेक्का पाएको श्री ओम सुजल जेभीले सम्झौताअनुसार शुक्रबारदेखि काम सुरु गरेको छ । कम्पनीका साइट इन्जिनियर रामबाबु शाहले पुलको जग खन्ने काम सुरु भएको जानकारी दिँदै मौसमले साथ दिए आगामी नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार १५ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि छ करोड तीन लाख सात हजार रुपैयाँमा सम्झौता भएको छ । यसअघि २०८० चैतमा निर्माण गरिएको उक्त पुल २०८१ साउन २२ गते राति आएको बाढीले भत्काएको थियो । त्यसयता नयाँ पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य थिए ।
स्थानीय लीलामाया तामाङका अनुसार पुल समयमा निर्माण नहुँदा राम सुनुवारको उक्त स्थानबाट लडेर मृत्यु भएको थियो । त्यस्तै, मोटरसाइकल, स्कुटर र सिटी सफारी दुर्घटनामा परी हालसम्म १५ जनाभन्दा बढी घाइते भइसकेका छन् । पछिल्लो समय धरान बजारको फोहोर पानीसमेत यही खहरेमा मिसिने गरेको छ ।
निर्वाचनका बेला विभिन्न राजनीतिक दल तथा उम्मेदवारले पुल निर्माण गर्ने आश्वासन दिएर मत मागे पनि निर्वाचित भएपछि खासै चासो नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन् । तामाङले भनिन्, “बच्चा, वृद्धवृद्धा र बिरामीलाई लिएर हिँड्दा निकै जोखिम हुन्छ । पुल कहिले बन्ला भन्ने आशामा थियौँ । बल्ल निर्माण सुरु भयो, खुसी लागेको छ ।”
विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको उक्त पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै संरचनामाथि कालोपत्र गरिएकाले कमजोर बनेको थियो । सोही कारण पुल भत्किएको स्थानीयको भनाइ छ । पुल समयमै निर्माण नहुँदा वर्षायाममा खोलामा आउने बाढी र कटानका कारण आसपासका २०० भन्दा बढी घर जोखिममा रहेका छन् ।