Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा अपेक्षा गरिएअनुसारको ‘डिपार्चर’ (नयाँपन) नदेखिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा सोमबार भएका द्विपक्षीय सहमतिहरू विगतकै निरन्तरतामा सीमित रहेको उनको भनाइ छ ।

भ्रमणका क्रममा विगतमा सुरु भएका आयोजनाबारे छलफल गर्ने, शिलान्यास गर्ने तथा सम्पन्न आयोजनाहरूको उद्घाटन गर्ने विषयले प्राथमिकता पाएको भट्टराईले बताए ।

भ्रमणका क्रममा दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले आर्थिक समस्या झेलिरहेको वर्तमान अवस्थामा यसलाई राम्रो मान्न सकिने धारणा राखे ।

यद्यपि, उक्त सहयोग ऋण हो वा अनुदान भन्ने विषय स्पष्ट नभएको उनको भनाइ छ । विगतमा पनि यस्ता थुप्रै घोषणा भए पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको स्मरण गर्दै उनले यसपटक घोषित सहयोगको प्रभावकारी उपयोग र कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

भट्टराईले क्रिकेट क्षेत्रमा क्रमशः सहकार्य गर्ने तथा नेपालमा भारतीय बैंकका शाखा खोल्नेजस्ता नयाँ विषयलाई सकारात्मक रूपमा लिएको बताए । उनका अनुसार यी विषय युवाहरूको चाहना र आवश्यकतासँग जोडिएका छन् । तर, अन्य कार्यक्रम भने विगतकै निरन्तरता भएको उनको टिप्पणी छ ।

झन्डै दुई तिहाइको जनमतसहित भारत भ्रमणमा गएका प्रधानमन्त्रीले नेपालका लामो समयदेखि थाँती रहेका महत्वपूर्ण मुद्दाहरूलाई प्राथमिकतामा राख्न नसकेको भट्टराईले बताए ।

संसद्ले समेत सर्वसम्मत रूपमा पारित गरेका हवाई मार्ग (एयर रुट), जलस्रोत, विद्युत् व्यापार तथा सीमा समस्याजस्ता विषय भ्रमणको एजेन्डामा समेटिन नसकेको उनको भनाइ छ । त्यस्तै, तराई क्षेत्रका जनताले लामो समयदेखि भोग्दै आएको डुबानको समस्या पनि प्राथमिकतामा नपरेको उनले बताए ।

भट्टराईले प्रधानमन्त्री शाहले मेयर हुँदा सीमा लगायत नेपालका राष्ट्रिय मुद्दाबारे राख्ने गरेको धारणा र अहिले प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका क्रममा देखाएको प्राथमिकताबीच समेत अन्तर देखिएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं