काठमाडौं । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा उक्त सहयोगबारे जानकारी गराइएको हो।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ।

कुल सहयोगमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको छ।

त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो।