विराटनगर। नेपालका लागि स्विस राजदूत डा.ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल–स्विट्जरल्यान्ड द्विपक्षीय हित, आपसी सहकार्य तथा विकास सहयोगका विषयमा छलफल भएको थियो। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन तथा शासकीय सुधारका क्षेत्रमा स्विस सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे। उनले आगामी दिनमा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि थप सहकार्य गर्न स्विस सरकारसँग आग्रह गरे।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न साझेदारी आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको आर्थिक समृद्धिका लागि सञ्चालन भइरहेका विकास परियोजनालाई प्रदेश सरकारले तीव्र गतिमा अघि बढाइरहेको बताए। उनले परियोजनाहरूको प्रगति उत्साहजनक रहेको पनि जानकारी दिए।

भेटमा स्विस राजदूत डा. म्युवलीले कोशी प्रदेशको विकास र समृद्धिका लागि स्विस सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले सञ्चालनमा रहेका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी सहकार्यलाई प्रभावकारी बनाउने बताइन्।
भेटवार्तामा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी तथा प्रेस सल्लाहकार विक्रम लुइँटेललगायतको उपस्थिति थियो।