Lite Nepal

आइतबार, मंसिर १३, २०८३

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ठमेलस्थित एक होटलबाट ३ किलो कोकिनसहित दक्षिण कोरियाली नागरिकलाई पक्राउ गरेको छ। कोकिन लिन आएका भारतीय नागरिकसमेत पक्राउ परेपछि घटनाले थप गम्भीर मोड लिएको छ।

ब्युरोका अनुसार मंसिर ११ गते दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो। उनको साथबाट ३ किलो कोकिन बरामद गरिएको ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।

अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दीपक उत्तम बाघमारे पनि पक्राउ परेका छन्। उनी भारतीय प्रहरीका बहालवाला जवान रहेको खुलेको छ। उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ को परिचयपत्रसमेत बरामद भएको अनुसन्धान अधिकृतहरूले बताएका छन्।

प्रहरीका अनुसार कोरियाली नागरिकले पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नोभेम्बर २६ मा कोकिन नेपाल ल्याएका थिए। उक्त कोकिन नेपालबाट भारतको मुम्बई पुर्‍याउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ। कोकिन लुकाइएको सुटकेस आदानप्रदान गर्न तस्करहरूले पासवर्डसमेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसअघि पनि ती कोरियाली नागरिक सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेको अभिलेख फेला परेको छ। काठमाडौंमा कोकिन कारोबारमा दक्षिण कोरियाली नागरिक पक्राउ परेको यो पहिलो घटना भएको ब्युरोले जनाएको छ।

कोकिन लिन आएका व्यक्ति भारतीय प्रहरीका बहालवाला कर्मचारी रहेको तथ्यले घटनालाई थप संवेदनशील बनाएको छ। अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिहरूबारे ब्युरोले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं