विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पत्रकार तथा सञ्चारमाध्यमका समस्या सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा आफ्नो पार्टीको अडान परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै आचार्यले यस क्षेत्रलाई थप समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।

महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाइएको छ ।
सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध पुर्याउने व्यक्तिमाथि कारबाही नगर्दा दण्डहीनताले प्रश्रय पाएको महासंघको ठहर छ ।
गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस)सहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको तथा पारिश्रमिक नदिई श्रम अधिकार उल्लंघन गरिएको विषयसमेत महासंघले उठाएको छ ।
सरकारी विज्ञापन र सूचना वितरणमा सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
लोककल्याणकारी विज्ञापनमा कटौती गरी सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरिएको र सूचनामा पहुँच सीमित पारिएको पनि महासंघको आरोप छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता र सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षासम्बन्धी माग सम्बोधन गराउन नेपाल पत्रकार महासंघ हाल आन्दोलनमा छ ।