
रिक्साको सिट छुनै लाग्दा
भीडका आँखाले छेड्छन्
“पुलिसको बुढी रे… हान !”
किन ?
म गर्भ बोकेको मान्छे,
युद्ध होइन, भविष्य बोकेको आमा ।
तर,
यहाँ पेटको बच्चासम्मलाई
भीडको उग्रताले डर देखाउँछ,
सिपाहीको घरलाई
देशले आफैँ दोषको निशाना बनाइदिन्छ ।
उता,
सडक धधकिरहेको छ,
अव्यवस्था, हल्ला, नाराहरू,
र त्यही भिडमा हराइरहेको
मेरो लोग्ने ।
ब्यान्डेजले बाँधिएको निधार,
रगतले लेखिएको कर्तव्य ।
देश चुप छ,
तर उसको घाउ बोल्छ,
“म सिपाही, तर म पनि मान्छे !”
गर्भभित्रको चलायमान सास
बाहिरको हुलसँगै काँपिरहेछ ।
बा कुन बेला फर्केला ?
बच्चाको पहिलो रोदन सुन्न पाउलान् ?
कि कफिनभित्र टाँसिएको मौन शरीर मात्र देखिन्छ ?
सिपाहीको घर
राजनीतिको लक्ष्य होइन,
दुश्मन होइन ।
तर जुनसुकै तनावको बेला
सबैभन्दा सजिलो प्रहार यहीँमा पर्छ।
देश चिच्याउँछ,
“कर्तव्य ! आदेश ! बलिदान !”
तर मेरा आँखाले सोध्छन् ।
“कति बलिदान ?
गर्भवती श्रीमतीलाई समेत
डरको निशाना बनाउने कस्तो न्याय ?”
सिपाहीलाई गोलीले मात्र होइन,
भीडका शब्दले पनि मार्छ ।
आदेशले मार्छ,
चुप लाग्नुपर्ने कर्तव्यले मार्छ,
आवाज उठाउन नपाइने नियतिले मार्छ ।
तर सुन्ने भए सुन्नू,
सिपाहीको बुढी नडराउने मान्छे हो,
टुट्दैन पनि ।
बच्चा जन्माउँछु,
तर डर होइन ।
साहसको रगत दिएर ।
देशलाई सुरक्षा चाहिन्छ भने
सिपाहीलाई पनि मान्छे ठान्न सिक ।
र नाराहरू उठाउनै छ भने
निशाना सत्ता बनाऊ,
गर्भवती आमाहरू होइन ।
अन्ततः
सबैभन्दा ठूलो प्रश्न यही
सिपाही देश जोगाउन दौडिन्छ,
तर उसको घर कसले जोगाउँछ ?
०००
