विराटनगर । मोरङको विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले सुनसरीको बराहक्षेत्र–८ मा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २७० जनाले सेवा लिएका छन् ।
अस्पतालको आयोजना तथा बराहक्षेत्र नगरपालिका–८ सालवनी, सुनसरीमा रहेको जनक माध्यमिक विद्यालयको व्यवस्थापनमा बुधबार सञ्चालन भएको उक्त शिविरमा १५० जना विद्यार्थी र १२० जना अभिभावकको आँखा परीक्षण गरिएको थियो ।
विद्यालयमा विहान १० देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको उक्त निःशुल्क शिविरमा त्यस क्षेत्रका स्थानीय अभिभावक र विद्यार्थीलाई प्राथमिकतामा राखेर आँखाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तालाले जानकारी दिईन् ।
उनका अनुसार बुधबारको शिविरमा १५ जना अभिभावकको आँखाको अप्रेसन गर्नुपर्ने पाइएको थियो । अस्पतालले शिविरमा आएर स्वास्थ्य परीक्षण गर्नेहरूलाई अप्रेसनमा ५० प्रतिशत सम्म छुट दिँदै आएको छ ।
छोटो समयमा नै गुणस्तरीय सेवा दिँदै आएको यस अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा निःशुल्क शिविर सञ्चालन गर्नुको साथै आँखाको उपचार गर्न आउनेहरूलाई पनि समय समयमा छुट र विशेष सेवाहरू प्रदान गर्दै आएको छ ।
