Lite Nepal

शनिबार, फाल्गुण २३, २०८२

विराटनगर । “ठूला पार्टीकाहरु सँग, हिजोको पत्रकार भाइले के जित्ला र ?,” “संगठन बिना चुनाव जितिँदैन ।”

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएदेखि नै चिया पसलदेखि चोकसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीका विषयमा यस्तै लख काटिन्थे ।
धेरैले उनलाई प्रतिस्पर्धी नै मानेका थिएनन् । कतिपयले त उनको उपस्थितिलाई भोट काट्ने मेसोको रूपमा मात्र ब्याख्या गरेका थिए ।
तर, जब मतपेटिका खुल्यो र गणना सुरु भयो, ती तमाम अनुमान र राजनीतिक विश्लेषणहरू फेल मात्र खाएनन्, मोरङको राजनीतिमा एउटा नयाँ भूकम्प नै गयो ।
र, ३४ वर्षीय पूर्व सञ्चारकर्मी सन्तोष राजवंशीले स्थापित र शक्तिमा रहेका ‘हेभीवेट’ नेताहरूको विरासत भत्काउँदै प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गरे ।
यो जित सामान्य अंकगणित मात्र होइन, यो परम्परागत राजनीतिको किल्लामा नयाँ पुस्ताले गाडेको विजयको झण्डाको रूपमा हेरिएको छ।
सन्तोषको यो जित चानचुने रहेन । उनको प्रतिस्पर्धा सामान्य उम्मेदवारहरूसँग थिएन ।
एकैपटक तीन ठूला शक्तिलाई परास्त गरे। संघीय सरकारका पूर्वमन्त्री तथा बहालवाला सांसद अमनलाल मोदीको सत्ता र शक्तिको रवाफ, नेपाली कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री गुरुराज घिमिरेको लामो राजनीतिक इतिहास र नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरेको संगठनात्मक पकड यी तीनै पहाड लाई सन्तोष राजवंशीको लोकप्रिय मतले होचो बनाइदिएको छ ।
भारी मतान्तरसहितको यो जितले मोरङमा पुस्तौनी राजनीतिको अन्त्य र नयाँ युगको सुरुवातको संकेत गरेको छ ।

२०४८ साल पुस १२ गते जन्मिएका सन्तोष राजवंशी पत्रकारिता र राजनीति शास्त्रमा स्नातक गरेका छन् । सन्तोषले लामो समय नेपाल टेलिभिजनको इटहरी च्यानलमा रहेर पत्रकारिता गरे।
क्यामेरा र कलम बोकेर गाउँ–गाउँ डुल्दा आफूले देखेको बेथिति, भ्रष्टाचार र सीमान्तकृत समुदायको पीडाले नै उनलाई राजनीतिमा होमिन प्रेरित गर्‍यो ।
राजवंशी समुदायको प्रतिनिधित्व गर्ने सन्तोषले आफ्नो समुदायको मात्र होइन, समग्र मोरङबासीको आवाज बोक्ने आँट गरेका छन् ।
हाल रास्वपाको प्रदेश विभाग सदस्यका रूपमा सक्रिय उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र समावेशी विकासलाई आफ्नो मूल मन्त्र बनाएका छन्।

जितपछि प्रतिक्रिया दिँदै सन्तोषले यो सुशासन चाहने हरेक नागरिकको जित रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजवंशीले कुल ४०,८३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। प्रत्यक्षतर्फ भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
प्रतिस्पर्धामा जीवन घिमिरे (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले ६,९३३ मत, गुरुराज घिमिरे (नेपाली कांग्रेस) ले १२,८१८ मत प्राप्त गरेका छन्। त्यस्तै तारा चुनाव चिह्न (नेपाल कम्युनिस्ट पार्टी बाट चुनाव लडेका अमन लाल मोदीले १०,७६२ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा