Lite Nepal

मंगलबार, बैशाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ ।

पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् ।

हिजो (सोमबार) प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिंड्ने घटनाले सिंगो देश र संसद्को इज्जतमाथि दाग लागेको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीले अहंकार र अमर्यादाहीन व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो । उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । देशको शीर झुकेको छ । यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ आङ्देम्बेले भने ।

साथै, प्रधानमन्त्री शाह स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको उनका राजनीतिक सल्लाहकार असिम शाहले स्पष्टीकरण दिएका थिए । उनले सञ्जालमार्फत दिएको उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको थियो ।

त्यसबारे प्रश्न गर्दै उनले भने, ‘यस्तो पनि हुनसक्छ कि अचान उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिंड्नुभएको होला । किनभने हामीलाई त्यस्तै खबर आयो र पछि डिलिट पनि भयो ।’

स्वास्थ्यमा अचानक प्रतिकूल अवस्था बनेको हो भने के भएको हो ? भन्दै उनले स्वास्थ्य परीक्षण हुनुपर्ने बताए ।

‘म सरकारलाई आग्रह गर्छु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो ? अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराइयोस्,’ आङ्देम्बेले भने ।

प्रधानमन्त्री अब रास्वपाको मात्रै नभइ आफूहरू सबैको सम्पत्ति भएको भन्दै उनले स्वास्थ्यको चिन्ता आफूहरूलाई पनि भएको जिकिर गरे ।

‘प्रधानमन्त्री अब रास्वपाको मात्रै रहनुभएन, हाम्रो पनि सम्पत्ति हो । उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो उहाँको स्वास्थ्य जानकारी संसद्लाई जानकारी गराइयोस् । हुनसक्छ सत्ताको भारी अपेक्षा गरेभन्दा ठूलो भएर ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं