विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेशको आर्थिक विकास र चलायमान अर्थतन्त्रका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योगी व्यवसायीलाई डर र असुरक्षाको वातावरण सिर्जना हुन नदिने स्पष्ट पार्दै निजी क्षेत्रलाई विश्वासमा लिएर प्रदेशको समृद्धि अभियान अघि बढाइने उल्लेख गरे।
उनले मुलुकमा बनेको वर्तमान दुई तिहाइको सरकारबाट राजनीतिक स्थिरता कायम हुने र त्यसले नागरिकमा राहतको अनुभूति दिलाउने विश्वास व्यक्त गरे। साथै आगामी प्रदेश बजेट उपलब्धिमूलक र उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिइसकेको जानकारी दिए।
मुख्यमन्त्री कार्कीले विकासलाई केवल सडक र पुल निर्माणसँग मात्र नजोड्न आग्रह गर्दै सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रमा लगानी विस्तार गर्न निजी क्षेत्रलाई आह्वान गरे। उनले आगामी आर्थिक वर्ष २०८३/८४ र २०८४/८५ लाई प्रदेश सरकारले “भ्रमण वर्ष” का रूपमा मनाउने तयारी गरिरहेको जानकारी समेत दिए।
उनका अनुसार विदेशमा रहेका नेपालीलाई स्वदेश भ्रमणका लागि आमन्त्रण गर्दै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाइनेछ। साथै प्रदेशमा उत्पादित कृषि सामग्रीको निर्यात विस्तारका लागि आगामी भदौमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग छलफल कार्यक्रम आयोजना गरिने उनले बताए।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला ले महानगर उद्योगी व्यवसायीको हितमा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए।
महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र बहादुर राउत ले राजनीतिक स्थिरतासँगै जलविद्युत, पर्यटन, कृषि र उद्योग क्षेत्रको विकासले देशको अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिपसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य सुयेश प्याकुरेल, पूर्व उपाध्यक्ष किशोर प्रधान, नरेन्द्र खड्का तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष पवन शारडा लगायतले उद्योग व्यवसायीका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
सो अवसरमा महासंघका प्रदेश अध्यक्ष राउतसहित नव-निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराई औपचारिक रूपमा पदस्थापन गरिएको थियो।
