काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् ।
असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’
जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न सुशील कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री पदमा रहेका ओलीलाई फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको सरकारले जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते ओली पक्राउ परेका थिए ।
फागुन २१ को चुनावमा एउटा पूर्वनिर्धारित नाटक भएको आरोप लगाएका छन् । चुनाव सकिएको करिब तीन महिनापछि उनले चुनावको परिणाममाथि प्रश्न उठाएका छन् ।