Lite Nepal

मंगलबार, आषाढ ०२, २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न देशमा पदयात्रा गर्दै आएको भियतनामी भिक्षुहरूको टोली तथा ‘अलोका’ नामक कुकुरलाई नेपालमा स्वागत गरिएको जनाएको छ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकामा १०८ दिनसम्म ३ हजार ७ सय किलोमिटरभन्दा बढी दूरी पार गर्दै सञ्चालन गरिएको ‘वाक फर पिस’ अभियानमा सहभागी टोली काठमाडौँ आइपुगेको उल्लेख गरेको छ। उक्त अभियानका क्रममा भिक्षुहरूसँगै यात्रा गरेको ‘अलोका’ नामक कुकुरले पनि व्यापक ध्यान आकर्षित गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको उपस्थितिमा आयोजित कार्यक्रममा टोलीलाई स्वागत गरिएको हो। स्वागत कार्यक्रमसँगै काठमाडौँमा शान्ति पदयात्रासमेत आयोजना गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

सार्वजनिक सन्देशमा ‘अलोका’ले घाम, वर्षा, हिमपात तथा अन्य चुनौतीपूर्ण परिस्थितिमा समेत भिक्षुहरूको साथ नछोडी यात्रा पूरा गरेको उल्लेख गरिएको छ। यसलाई करुणा, मैत्री, निष्ठा र सहअस्तित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

मन्त्रालयले बुद्ध दर्शनले शान्तिको सुरुआत व्यक्तिको मनबाट हुने सन्देश दिने उल्लेख गर्दै पदयात्राले त्यही विचारलाई पुनः स्मरण गराएको जनाएको छ। मानिसबीच मात्र नभई सबै जीवप्रति मैत्री र करुणाको भावना विस्तार गर्न सके दिगो शान्तिको आधार निर्माण हुने सन्देशमा उल्लेख छ।

पछिल्ला वर्षहरूमा विभिन्न मुलुकमा शान्ति, अहिंसा र सहअस्तित्वसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा अभियान सञ्चालन हुँदै आएका छन्। यस्ता अभियानले धार्मिक तथा सांस्कृतिक सन्देशलाई समाजसँग जोड्ने माध्यमका रूपमा पनि काम गर्ने गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सन्देशमा सबै प्राणीको सुख, शान्ति र कल्याणको कामनासमेत व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं