काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्लास्टिकजन्य पानीका बोत्तल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्चीको पानी सिधै पिउन मिल्ने गरी धाराको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको निर्देशनपछि कर्मचारीहरूले खानेपानीसँग सम्बन्धित निकायहरूसँग समन्वय गरी पानीको गुणस्तर परीक्षण, पाइपलाइन तथा धारा व्यवस्थापनको काम अघि बढाएका छन्। यसका लागि केही दिनअघि प्राविधिक टोलीले प्रधानमन्त्री निवास परिसरको निरीक्षणसमेत गरेको प्रशासन उच्च स्रोतको भनाइ छ।
सरकारी निवासमा बोत्तलको पानीको प्रयोग अन्त्य गर्ने तयारीलाई खर्च व्यवस्थापनसँगै वातावरणीय र स्वास्थ्य पक्षसँग पनि जोडेर हेरिएको छ। प्लास्टिकजन्य बोत्तलमा उपलब्ध पानीमा सूक्ष्म प्लास्टिकका कण (माइक्रोप्लास्टिक) हुन सक्ने विषय विभिन्न अध्ययनमा उठ्दै आएको सन्दर्भमा वैकल्पिक व्यवस्थातर्फ ध्यान दिइएको जनाइएको छ।
खानेपानी सम्बद्ध स्रोतका अनुसार यो व्यवस्थाले प्रधानमन्त्रीले पनि सर्वसाधारण नागरिकले प्रयोग गर्ने खानेपानी नै उपभोग गर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। सार्वजनिक आपूर्तिको पानीको गुणस्तरप्रति विश्वास बढाउने उद्देश्यसमेत यससँग जोडिएको बताइएको छ।
मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पानीको गुणस्तर नियमित परीक्षण हुने गरेको र मुख्य भण्डारण ट्यांकीहरूमा पुग्ने पानी आवश्यक मापदण्डअनुसार रहेको सम्बन्धित निकायले बताउँदै आएका छन्। उपयुक्त वितरण तथा व्यवस्थापनको अवस्थामा उक्त पानी सिधै पिउन सकिने स्तरको रहेको दाबी पनि सम्बन्धित पक्षले गर्दै आएको छ।
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटघाट तथा मन्त्रिपरिषद् बैठकहरूमा समेत बोत्तलको पानीको प्रयोग क्रमश: घटाइएको थियो। बालुवाटारमा समेत त्यही अभ्यासलाई संस्थागत गर्ने तयारी भएको बुझिएको छ।