काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्वास्थ्य मन्त्री निशा मेहताले अन्यत्र सार्न खोजेको भन्दै विरोध जनाएका थिए।
सांसद यादवको विरोध र गम्भीर ध्यानाकर्षणपछि सभामुख अर्यालले सरकारलाई उक्त विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
आकस्मिक समयमा बोल्दै सांसद डा. यादवले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सार्न खोजिएको आरोप लगाए। उनले यसको विरोधस्वरूप सदनको बैठक अवधिभर उभिएर मौन विरोध गर्ने घोषणा गरेका थिए।
सांसद यादवको विरोधपछि सभामुख अर्यालले सरकारलाई सो विषयमा आजै सदनमार्फत जवाफ दिन निर्देशन दिएका हुन्।