काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तथा आन्दोलनरत र असन्तुष्ट नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै साम्पाङले नागरिकको सुरक्षा, न्याय, रोजगारी र आधारभूत सेवा प्रवाहप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
पछिल्ला घटनाक्रमले सर्वसाधारणसँगै जनप्रतिनिधिसमेत असुरक्षित रहेको दाबी गर्दै उनले आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढ्नुमा राज्य संयन्त्र कमजोर हुनु प्रमुख कारण रहेको बताए।
तराई–मधेस क्षेत्रमा समेत नागरिकले असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारले त्यहाँको वास्तविक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरू प्रशासनिक कार्यालय वा वातानुकूलित कक्षमा सीमित नभई स्थलगत रूपमा नागरिकका समस्या बुझ्नुपर्नेमा जोड दिए।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आएका सूचनाका आधारमा मात्रै राज्य सञ्चालन गर्न नहुने उनको भनाइ छ। न्याय प्रणालीप्रति नागरिकस्तरबाट प्रश्न उठिरहेको भन्दै उनले असन्तुष्ट नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरे।