काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग उठ्न थालेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल सच्याउन माग गरे। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट धारणा सदनसमक्ष प्रस्तुत गर्न माग गरे।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै अभिव्यक्ति सच्याउन माग गरे। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने बताए।
सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत सभामुखसमक्ष माग गर्दै आएका छन्।