मोरङ । रोजगारीको अभाव, प्रमाणपत्रमुखी शिक्षा, बजेटको दुरुपयोग र बढ्दो विदेश पलायनप्रति आक्रोश व्यक्त गर्दै मोरङका युवा विद्यार्थीले प्रदेश सभा सदस्यहरूलाई जवाफदेही बन्न प्रश्न गरेका छन् । उनीहरूले भाषण र आश्वासनभन्दा सीप, रोजगारी र उद्यमशीलताका लागि ठोस कार्यक्रम तथा बजेटको माग गरेका छन् ।
संसदीय पत्रकार मञ्च, कोशी प्रदेशको आयोजनामा मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा भएको ‘प्रदेश सभा प्रतिको युवाको बुझाइ’ विषयक अन्तरसंवादमा विद्यार्थीहरूले प्रदेश सभा सदस्यहरूसामु तीखा प्रश्न राखेका हुन् ।
कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस, बेलबारी बहुमुखी क्याम्पस र पब्लिक क्याम्पसलगायतका विद्यार्थी सहभागी थिए। करिब १३० जना सहभागी रहेको कार्यक्रममा युवाहरूले शिक्षा, रोजगारी, बजेट, उद्यमशीलता, पूर्वाधार, लगानी सुरक्षा तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रदेश सभा सदस्यहरूको ध्यानाकर्षण गराए ।
विद्यार्थी टीका रायमाझी कार्कीले देशमा रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भइरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराइन् । पासपोर्ट वितरणमा ढिलाइ गरेर वा एनओसी रोक्दैमा विदेश पलायन रोकिन्न, देशमै भविष्य देखिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

अर्थशास्त्रका विद्यार्थी दिपक भण्डारीले सांसदहरू नीतिगत बजेट र अनुगमनभन्दा खुद्रा तथा साना योजनामा बढी केन्द्रित हुने गरेको आरोप लगाए । युवा तथा उद्यमशीलताका नाममा आउने बजेट वास्तविक उद्यमीसम्म नपुगी पहुँचवालाको हातमा पुग्ने गरेको भन्दै उनले बजेट प्रणालीमै सुधारको माग गरे ।
विद्यार्थी खगेन्द्र घिमिरेले नेपालको शिक्षा प्रणालीले सीप र रोजगारीभन्दा प्रमाणपत्र उत्पादन गरिरहेको बताए । प्रमाणपत्र बोकेर बेरोजगार बस्ने शिक्षा होइन, सीप सिकेर आम्दानी गर्न सक्ने शिक्षा चाहिएको भन्दै उनले प्रदेश सरकारलाई प्राथमिकता स्पष्ट गर्न आग्रह गरे ।
आङदावा शेर्पाले पहाडी क्षेत्रका कतिपय सरकारी विद्यालयमा अझै छानो, डेस्क–बेन्चजस्ता आधारभूत पूर्वाधारसमेत नपुगेको भन्दै प्रदेश सरकारको शिक्षा नीतिमाथि प्रश्न उठाए । रोजगारमूलक कार्यक्रम ल्याइएको भनिए पनि त्यसमा युवाहरूको वास्तविक पहुँच कति छ भन्ने प्रश्नसमेत उनले गरे ।
विद्यार्थी ज्योति न्यौपानेले अटिजम तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय र अनुकूल वातावरण निर्माण गर्न सरकारको योजना माग गरिन् ।
अन्य विद्यार्थीहरूले मल–बीउको अभाव, सरकारी र निजी विद्यालयबीचको शैक्षिक असमानता, युवा क्षमताको उपयोग, लोकसेवा तथा शिक्षक सेवा आयोगका विज्ञापनमा हुने ढिलाइ र साहित्यिक गतिविधिका लागि बजेट अभावका विषय उठाए ।
विद्यार्थीका प्रश्नको जवाफ दिँदै प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले बजेट निर्माणमा खुद्रा योजनाको प्रवृत्ति देखिएको स्वीकार गरे । उनले जनप्रतिनिधिलाई गल्ती सुधार्न नागरिक तथा युवाको प्रतिक्रिया आवश्यक रहेको बताए ।
उनले सरकारले मात्र सबै युवालाई रोजगारी दिन नसक्ने भन्दै युवाहरू आफैँ सिर्जनशील र उद्यमशील बन्नुपर्ने बताए। तर विद्यार्थीहरूले भने सरकारको जिम्मेवारीबाट पन्छिएर युवालाई मात्रै उद्यमशील बन्न आग्रह गर्नु पर्याप्त नहुने धारणा राखेका थिए ।
प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङ्गाले गुणस्तरीय शिक्षाका लागि शिक्षक मात्र नभई अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको समेत भूमिका महत्वपूर्ण हुने बताइन् । युवाका लागि सीपमूलक र रोजगारमूलक कार्यक्रम सामाजिक विकास तथा कृषि, उद्योग र सहकारी क्षेत्रमार्फत सञ्चालन भइरहेको उनको भनाइ थियो ।
प्रदेश सभा सदस्य गीता तिम्सिनाले युवा तथा खेलकुद क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको बताउँदै प्राविधिक शिक्षा र सक्षम छोरी लगायतका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन् । उनले विद्यालय तहदेखि नै नैतिक तथा संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताइन् ।
प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले सङ्घीय शिक्षा ऐन पूर्ण रूपमा निर्माण भइनसकेका कारण प्रदेश र स्थानीय तहमा शिक्षासम्बन्धी कानुनी व्यवस्था स्पष्ट गर्न केही ढिलाइ भएको बताए । उनले सुकुना क्याम्पसको खानेपानी, छात्राबास तथा पूर्वाधारसम्बन्धी समस्या समाधानका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सुकुना बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख बलराम पोखरेलले संविधानले प्रदेश सरकारलाई उच्च शिक्षाको अधिकार दिएको अवस्थामा पनि बजेट प्राथमिकता अन्य तहका शिक्षामा जाने गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा कोशी प्रदेश सभा सचिवालयका अधिकृत निरोज ढकालले प्रदेश सभा, युवा लक्षित कार्यक्रम तथा प्रदेश सभाका गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए । संसदीय पत्रकार मञ्च, कोशी प्रदेशका उपाध्यक्ष गोकुल पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।