विराटनगर । गृह मन्त्रालयले संखुवासभा र बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ ।
मंगलबार राति मन्त्रालयले बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै बैतडीमा उपसचिव मिना अर्याललाई प्रजिअको जिम्मेवारी दिएको हो ।
अर्याल यसअघि डडेल्धुराको प्रजिअमा सरुवा भएकी थिइन् । तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेको अवस्थामा पुनः सोही तहको कर्मचारीलाई सरुवा गरिएको विषयमा समस्या देखिएपछि उनी गृह मन्त्रालयमै रोकिएकी थिइन् । मन्त्रालयले पछिल्लो निर्णयबाट उनलाई बैतडीको प्रजिअमा खटाएको हो ।
मन्त्रालयले बैतडीका प्रजिअ भट्टराईलाई संखुवासभाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी सरुवा गरेको छ। संखुवासभाको प्रजिअ पद पछिल्लो समय रिक्त थियो ।
कप्तानगञ्ज घटनापछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई मन्त्रालय तानिएको र संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई त्यहाँ खटाइएपछि संखुवासभामा प्रजिअ पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा भट्टराईलाई पठाइएको हो ।