यो कार्य सरासर बेइमानी हाे : नेकपा इन्चार्ज राजेन्द्रकुमार राई
विराटनगर । कोशी प्रदेश सरकारबाट ‘ढिला गरी’ बाहिरिएका नेपाली कांग्रेसका मन्त्रीसहितको हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले नयाँ सत्तासमिकरण अघि विभिन्न सरुवा र नियुक्ति गरेको छ ।
केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको नयाँ सहमतिअनुसार प्रदेशमा पनि सत्ता फेरबदलको प्रक्रिया जारी थियो तर, मंगलबार र बुधवार नै विभिन्न मन्त्रालयबाट सरुवा र नियुक्तिका दर्जनौँ निर्णय भएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले राजीनामा दिनु केही घण्टा अघि मात्र प्रदेशका डिभिजन वन कार्यालयका प्रमुख (डीएफओ)को सरुवा गरे भने, विभिन्न व्यक्तिलाई पर्यटन विकास समितिहरूमा नियुक्त गरेका छन् ।
इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र साहले प्रदेश सरकारले साउन २७ गते बुधवार आफ्नो सरुवाको निर्णय गरेको बताए । उनले आफ्नो सरुवा तेह्रथुम भएको र हिजो (बुधवार) गरेको सरुवाको निर्णय आफूलाई आएको पुष्टि गरे ।
यस्तै केचना–कञ्चनजङ्घा पर्यटन विकास समितिमा पनि विभिन्न व्यक्तिहरूलाई मन्त्री पराजुलीले साउन २६ गते निर्णय गरेर नियुक्ति गरेका छन् । उक्त नियुक्ति पत्र पाउनेहरूले सामाजिक सञ्जालमा नै मितिसहितको आफूले पाएको नियुक्ति पत्र सार्वजनिक गरेका छन् ।
यता नयाँ सक्तासमिकरणमा जोडिएको नेपाली कम्युनिस्ट पार्टीले अन्तिम समयमा सरकारले गरेको उक्त निर्णयलाई ‘बेइमानी’ भनेको छ । पार्टीका प्रदेश इन्चार्ज राजेन्द्रकुमार राईले लाइट नेपालसँग कुरा गर्दै यो कार्य सरासर बेइमानी भएको बताए । ‘मैले पनि सरुवा र नियुक्तिका कुरा सुनेँ, उनले भने, ‘यो हामीसँगको बेइमानी हो । यस्तो कार्य हामीलाई स्वीकार हुँदैन । यो त दोहोरो चरित्रको कार्य भयो ।’
सरुवा र नियुक्तिका विषयमा कुरा गर्न तत्कालीन मन्त्री पराजुलीलाई सम्पर्क गर्दा फोन उठेन ।