काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्दै परिवर्तनलाई विधि र पद्धतिअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा प्रक्रियामार्फत संस्थागत गर्नुपर्ने बताएका हुन्।
पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने तथा पार्टीमा एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए।
देउवाले आफ्नो लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै शर्माले उक्त विचारलाई अहिलेको सम्मेलनको केन्द्रमा राखिनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ। युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ।’
विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्दा पार्टीभित्र गम्भीर प्रश्न उठ्ने शर्माको तर्क छ। देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार गर्न सक्नेले पार्टी नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हुनुपर्ने उनले बताए। शर्माले पार्टीभित्रको परिवर्तनलाई व्यक्तिकेन्द्रित नभई विधि, प्रक्रिया र संस्थागत निर्णयका आधारमा अघि बढाउनुपर्नेमा समेत जोड दिए।