काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।
साउन २७ गते आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बताएका हुन्।
उनले उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न वा आरोप लाग्दैमा चरित्र हत्या गर्न नहुने बताए। ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन,’ उनले भने, ‘प्रहरी प्रमुखहरूलाई समितिमा जसरी प्रस्तुत गरियो, त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ।’
गुरुङले सार्वजनिक लेखा समितिभन्दा कानुन, न्याय तथा मानव अधिकार समिति भद्र लागेको टिप्पणीसमेत गरे। उनले प्रहरी प्रमुखहरूले दिनरात काम गरिरहेको आफू प्रत्यक्षदर्शी रहेको भन्दै आरोपकै आधारमा उनीहरूको चरित्र हत्या गर्न नहुने बताए।