काठमाडौँ ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
तीन दिनसम्म चलेको समूहको सम्मेलनले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै नेपालमा सनातनदेखि चलिआएका धर्म–संस्कृति र परम्परालाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउने धारणा सार्वजनिक गरेको हो।
सम्मेलनबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख गरिएको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।
त्यस्तै, हिन्दु, बौद्ध, किरात तथा प्रकृति पूजामा आधारित परम्परालगायतका सनातन धर्म–संस्कृतिको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता प्रस्तावमा गरिएको छ। सम्मेलनमा देउवाले आफू हिन्दु भएको उल्लेख गर्दै सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने बताएका थिए।
यसअघि कांग्रेसले धार्मिक स्वतन्त्रताका विषयमा आफ्नो धारणा राख्दै आएको थियो। देउवा समूहले भने सम्मेलनमार्फत धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको हो।