विराटनगर । मोरङ जिल्ला कारागारमा कैदी बन्दीको आन्दोलन अझै साम्य हुन सकेको छैन। स्थानान्तरणको विरोध गर्दै कैदीबन्दीहरूले आन्दोलन जारी राखेका हुन्।
कारागारको ‘बी’ ब्लकमा रहेका करिब १५ जना कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयलाई लिएर उनीहरूले कारागारको छतमा टायर बालेर नाराबाजीसमेत गरेका थिए।
कैदीबन्दीहरूले ‘शोषण बन्द गर’, ‘कैदी बन्दीलाई गोली हान्न पाइँदैन’, ‘मानसिक यातना दिन बन्द गर’, ‘प्रधानमन्त्री बालेन शाह जिन्दाबाद’, ‘गृहमन्त्री सुदन गुरुङ जिन्दाबाद’, ‘प्रहरीको दमन चल्दैन’ र ‘राजनीतिक हस्तक्षेप चल्दैन’ लगायतका नारा लगाएका थिए।
यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले कारागारमा नियमित चेकजाँचका लागि प्रहरी टोली गएको बताएका छन्। उनका अनुसार टोली नियमित चेकजाँच पूरा गरेर फर्किसकेको छ।
एसपी कटुवालले भने,’हामी नियमित चेकजाँचका लागि गएका हौँ। हाम्रो टोली फर्किसकेको छ।’उनका अनुसार कारागारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समय–समयमा चेकजाँच गर्ने गरिएको छ। उनले कैदीबन्दीको स्थानान्तरण पनि कारागारको नियमअनुसार हुने बताएका छन्।