काठमाडौँ । मलेसियाको क्वालालम्पुर जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। व्यक्तिगत भ्रमणका लागि मलेसिया प्रस्थान गर्ने क्रममा तोकिएको सीमाभन्दा बढी अमेरिकी डलर बोकेको भेटिएपछि उनीहरूलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२४, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। दुवै जना नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर बरामद भएको छ। उनीहरू आइतबार राति नेपाल वायुसेवाको उडानमार्फत क्वालालम्पुर जाने तयारीमा थिए।
विमानस्थलमा गरिएको जाँचका क्रममा विदेश लैजान पाउने अनुमतिसम्बन्धी सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको भेटिएपछि उनीहरूलाई प्रस्थान गर्नुअघि नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा विदेशी मुद्रा बोकेको विषयमा कानुनी प्रक्रिया अघि बढाउन दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरी प्रवक्ता सिलवालले बताए।