काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृत्यु भएका मतदाताको विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका हुन्। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ।
मतदाताको मृत्यु भएपछि एकाघरका परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सक्ने व्यवस्था छ। मतदाता नामावली अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि महत्वपूर्ण रहेको आयोगले जनाएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत २२ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुँदै आएको छ।
राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले त्यसको विवरणका आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
त्यस्तै, मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा आफूलाई पायक पर्ने मतदानस्थलमा नाम सार्ने, नागरिकताअनुसार विवरण सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका कार्यका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।