काठमाडौं ।सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न गठित समितिले मंगलबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको ।
गत १० साउनको राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो। त्यसपछि भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।
सुरक्षाकर्मीको गोली लागेर सुरुमा कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घाइते भई उपचाररत जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि पछि मृत्यु भएको थियो।
कप्तानगञ्जको विवाद सिरहासम्म पुगेको थियो। सिरहामा भएको घटनामा पनि सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
यी दुवै घटनाको छानबिन गर्न गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो। कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो भने सिरहा घटनाको छानबिन गर्न अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरिएको थियो।