काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट ६ मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मन्त्रालय बाँडफाँटसम्बन्धी सहमति भएपछि तामाङको जिम्मेवारी तोकिने मुख्यमन्त्री थापा मगरले बताएका छन्।
नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। नेकपाले पाउने अर्को मन्त्रालयमा भने पछि मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
त्यस्तै, राप्रपाबाट राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिकमन्त्री तथा राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त गरिएको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय छन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।