Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजको अध्ययन, कानुनी विश्लेषण तथा आन्तरिक प्रक्रियासम्बन्धी विषय सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए ।

समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि निर्णय प्रक्रियामा पुग्नुअघिका कतिपय प्राविधिक तथा आन्तरिक विषय सार्वजनिक गर्दा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सदस्यहरूले दस्ताबेज अध्ययन गरे वा नगरेको जस्ता विषय स्वयं सदस्यको जिम्मेवारी भएकाले यस्ता विवरण सभापतिमार्फत सार्वजनिक गर्न आवश्यक नरहेको उनले बताए ।

बैठकमा समितिमा प्राप्त हुने उजुरीका विषयमा बोल्दै बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने क्षेत्राधिकार सुनुवाइ समितिसँग नरहेको स्पष्ट पारे । सूचनाको हक प्रयोग गर्ने र उजुरी दिने प्रवृत्तिलाई नजरअन्दाज गर्न नमिल्ने भए पनि समितिको क्षेत्राधिकारभन्दा बाहिरका उजुरी सम्बन्धित निकायमा पठाउनुपर्ने उनले सुझाव दिए ।

“समितिले गर्ने अध्ययन, परीक्षण र कानुनी विश्लेषणका आधारमा अन्तिम निष्कर्ष निकाल्नुपर्छ । यस्ता कतिपय विषयमा कानुनी पक्षसमेत जोडिने भएकाले हामी संवेदनशील हुनुपर्छ,” उनले भने ।

उनका अनुसार समितिमा प्राप्त उजुरीको प्रकृति हेरी आवश्यक छानबिन तथा कार्यान्वयनका लागि गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा पठाउनु उपयुक्त हुन्छ ।

“आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा हामी न कुनै निष्कर्षमा पुग्न सक्छौँ, न त ठोस निर्देशन नै दिन सक्छौँ । त्यसैले यस्ता विषयलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ,” उनले भने ।

बुर्लाकोटीले समितिको समय र गरिमाको रक्षा गर्दै क्षेत्राधिकारभित्र रहेर मात्र कार्यसम्पादन गर्न समितिको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं