Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी र राजस्व संकलनमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगका विषयमा समेत गम्भीर अध्ययन आवश्यक रहेको बताए। विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा आवश्यक कानुन निर्माण गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे।

उनले भने, “गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ। विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गर्ने विषय उल्लेख भइसकेको छ। विगतमा विकसित मुलुकहरूको दबाबमा यसलाई प्रतिबन्ध लगाइए पनि अहिले ती देशहरू नै खुलापनतर्फ गइरहेका छन्। त्यसैले नेपालले पनि यस विषयलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ। माननीयज्यूले औपचारिक रूपमा यो प्रश्न उठाउनुभएको छ, यसलाई मैले गम्भीरतापूर्वक लिएको छु। गृह मन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यसलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु।”

गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने उल्लेख गर्दै मन्त्री वाग्लेले थप अध्ययन तथा कानुनी निक्र्योलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने बताए। औद्योगिक प्रवर्द्धन तथा सरकारी राजस्व वृद्धिको दृष्टिले गाँजा खेतीलाई अर्थ मन्त्रालयले प्राथमिकतामा राख्ने उनको भनाइ थियो। यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्‍याउन आफूले पहल गर्ने पनि मन्त्री वाग्लेले विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं